देश

हेलिकप्टर चढेर गाउँ फर्किए मतदाता


काठमाडौँ — शुक्रबार हुन गइरहेको चुनावमा भोट हाल्नका लागि मतदाता गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ तथा सहर पुग्नेको लर्को छ । तर जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ तथा क्यान्जिनमा भने हेलिकप्टर चढेर मतदाता गाउँ पुगेका छन् । स्थानीय ग्याल्बु तामाङका अनुसार चुनावको समयमा त्यस क्षेत्रमा मतदाताहरू हेलिकप्टर चढेर नै मतदान गर्न आउने गरेका छन् ।

‘काठमाण्डौ बस्ने तथा विभिन्न देशमा पुगेका मतदाता पनि चुनावको समयमा गाउँ आउँछन्’, उहाँले भन्नुभयो’, यस क्षेत्रमा सडक विस्तार नभएका कारण हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ ।’ काठमाण्डौबाट स्याफ्रुसम्म गाडीमा जाने र त्यसपश्चात २ दिनको पैदलयात्रा गर्न पर्छ । पर्यटकीय क्षेत्रको सौन्दर्य जोगाउन र यस क्षेत्रमा आउने पर्यटक हिँड्न मन पराउने भएका कारण सडक विस्तार नगरिएको हो । मतदान गर्नका लागि २० जना मतदाता हेलिकप्टर मार्फत आएका उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको सासामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ ।

यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।५ सय भन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् ।