Breaking

अन्तिम समयमा गठबन्धनमा मनमुटाव, प्रचण्डले भने-काँग्रेसबाट धोका भयो, माधव नेपाल आक्रोशित


काठमाडौँ — बैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचन आउन अब मात्र तीन दिन बाँकी छ । शुक्रबार बिहान७ बजेदेखि नै मतदाताले व्यालेटमामत खसाउने छन् । तर चुनावी तालमेलसहित निर्वाचनमा होमिएका गठबन्धनका दलहरु एकअर्काबाटै मत नआउने भएपछि सशंकित बनेका छन् ।
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले आफ्नै पार्टीका मतदाताले आफ्नै उम्मेदवारलाई मत दिने सम्भावनामाथि आशंका गरिरहेको छ । अनि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काँग्रेसका मतदाताको मत पाउने सम्भावनामै आशंका गरिरहेका छन् ।

अब व्यालेटमा मत खस्न मात्र तीन दिन बाँकी छ, तर गठबन्धनका प्रमुख तीन दल एक अर्कामा आशंका गरिरहेका छन् ।सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कैलालीको चुनावी सभालाई सम्बोधन गर्दै आफ्नाविरुद्ध धोका, बेइमानी र षड्यन्त्र भइरहेको आरोप लगाए । स्थानीय प्रसंग निकाल्दै काँग्रेसका बागीको उम्मेदवारी खारेज नभए एक्लै चुनाव लड्नुपर्ने दाबी गरे । मुलतः सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा माओवादी र एकीकृत समाजवादी ढुक्क छैनन् ।

सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा समेत रेनु दाहालविरुद्ध बागी हालेका जगन्नाथ पौडेलले गठबन्धनको चाहना बमोजिम उम्मेदवारी फिर्ता लिएनन् । अझ यहाँ त तालमेलको विरुद्धमा रहेका अधिकांश नेता÷कार्यकर्ताले पौडेललाई साथ दिइरहेको अनुमान गरिएको छ । काँग्रेसकै भरमा चुनाव लडिरहेका प्रचण्डलाई काँग्रेस मत विभाजित भएपछि छट्पटी बढेको छ ।त्यसमा पनि बागी उम्मेदवार पौडेललाई काँग्रेसकै संस्थापनइतर पक्षले अप्रत्यक्ष सहयोग गर्ने संकेत देखाएपछि रेनुले जित्ने सम्भावनामाथि नै शंका छ ।

किनकि कांग्रेसको संस्थापन पक्षले तालमेलको भावनाअनुसार आपसी सहयोगका लागि कोसिस गरे पनि शेखर कोइराला पक्षले असहयोग गरेको गठबन्धनकै शीर्ष नेताहरुको बुझाइ छ ।आइतबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत काँग्रेसले दम्भ देखाएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई असफल पार्न नेता शेखर कोइराला र महामन्त्री गगन थापा गठबन्धनबीच भएको तालमेलअनुसार चुनावी अभियानमा जोडिएका छैनन ।

यसैकारण उनीहरु गठबन्धनको साझा चुनावी सभामा समेत सहभागी भएनन् । मुलतः माओवादीले मेयर पाएको भरतपुर र एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरमा काँग्रेसले असहयोग गरे अन्य महानगरमा काँग्रेसलाई असहयोग हुनसक्ने अनुमान पनि भइरहेका छन् ।तरपनि प्रधानमन्त्री देउवाले गठबन्धनकै उम्मेदवार मत हाल्न दबाब दिने मात्रै होइन, नत्र कारबाही गर्ने बताइरहेका छन् । सहमति भएका ठाउँमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नेतामाथि पार्टीले कारबाही नगर्दा प्रचण्ड–माधवको शंका चुलिएको छ ।

६ महानगर र ११ उपमहानगरको केन्द्रबाट तालमेल भएपनि त्यसबाहेकका पालिकामा जिल्ला तहबाटै देशव्यापी प्रयास भएको थियो । तर २ सय ९ पालिकामा मात्रै ‘सेट’ मा तालमेल भएपछि एकतिहाइभन्दा पनि कम अर्थात २८ प्रतिशतमा मात्रै तालमेल सफल भएको छ । ठिक यसैबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरिरहेकाले पनि सत्तारुढ दलहरु आशंकाकै बीच मतदानमा सहभागी हुँदैछन् ।