Breaking

कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्न प्वाल पारिसक्यो: थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको टिप्पणी गरेका छन् । आज मङ्गलवार गठबन्धनको तर्फबाट गरिएको काठमाण्डौ महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गर्नुभएको हो । सत्तारूढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उहाँले बताउनुभयो ।

कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका बिचरा भनिएको उल्लेख गर्दै नेता थापाले एमालेले पनि गएको चुनावमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हँसिया हथौडामा भोट हालेको स्मरण गराए । महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसका कार्यकर्तालाई बिचरा रुखमा भोट हाल्न पाएका छैनन् भन्न गरिन्छ । अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा एमालेको उम्मेदवार थिएन । अस्ति भर्खर प्रचण्डलाई, नेकपा (माओवादी केन्द्र) लाई मत हालेर जिताएर एमालेले पार्टी नै एउटै बनाएको होइन रु यस पटकको चुनावमा गठबन्धन भनेर पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ ।

पाँच पार्टी संसदमा सँगै छ । सरकारमा सँगै छ । तर एमालेसँग उभिएको पार्टी हेरौँ । मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन । डाँडा चढ्यो विप्लव । ओरालो ओर्लियो सिके राउत । परिवार दलको साँचोदेखि सिके राउतको लाउडस्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म छ । चारतीरबाट तपाईँले सूर्य चिह्न हेर्नुभयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाण्डौ महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर फेरि दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताए । स्थापितलाई यसरी डुलेको बारेमा काठमाण्डौका मतदाताले प्रश्न गर्नुपर्ने बताए ।