देश

समयअघि नै जहाज उडाउँदा ‘यात्रु छुटेपछि कारबाही गर्न सिफारिस


काठमाडौँ — नेपालगञ्जबाट जुम्ला आउने यती तारा एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ । जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको हो ।

चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका लागि बाँके प्रशासनमा निवेदन दिएको बताउनुभयो । ‘टिकटमा दिउँसो १ बजेको समय दिएको छ तर समयअघि नै जहाज उडाउँदा समस्या भयो । यसबारेमा विमानस्थलका कर्मचारीबाट सहयोग नपाएपछि जिल्ला प्रशासनमा गएको हुँ’, उहाँले भन्नुभयो । नेपालगञ्जमा यती एअरलाइन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाज केही चाँडो उडाइएको बताउनुभयो । गोविन्दबहादुर महत बोर्डिङ गरेर बाहिर जाँदा छुटेका स्टेशन म्यानेजर कार्कीको भनाइ छ ।