देश

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपा चुनावी तालमेल


काठमाडौँ — गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो । एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारको मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् ।

सम्झौताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग गर्नेछ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउनेछ । नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेको जसपाले मेयरमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी उपमेयर पदको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता लिएको थियो । तर कांग्रेससँगको तालमेलको प्रयास वैशाख २१ गते असफल भएको थियो ।

एमालेबाट पालुङटारको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार छन् । जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार हुनुहुन्छ । जिल्लाका अन्य पालिकामा पनि सम्भव भएसम्म तालमेल गरी चुनावमा जाने दुई पार्टीबीच सहमति भएको छ । पालुङटार जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर हो ।