देश

साढे चार वर्षमा साढे नौ सय करोडको काम गरेको छु : विजय सरावगी


काठमाडौँ — विजय सरावगी एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकामा मेयरका लागि उम्मेदवार छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् तर फरक पार्टीबाट । यसअघि संघीय समाजवादी पार्टीबाट चुनाव जितेका उनी पछिल्लो समय जसपा नेपालमा थिए । जसपाबाट पुनः टिकट नपाउने भएपछि उनी एमालेमा प्रवेश गरेर एमालेबाटै मेयरको उम्मेदवार बनेका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगीले महानगरपालिकामा राम्रो काम नगरेको भन्ने गुनासो पनि व्याप्त छ । अर्कोतिर सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिनु परेका कारण उनले अंकगणितको चुनौती पनि सामना गरिरहेका छन् ।

मेयरका रुपमा एउटा कार्यकाल पूरा गरेका सरावगीका लागि वीरगञ्ज महानगरको नेतृत्व गरेको अनुभव त छ तर एक महिना अघि एमालेमा प्रवेश गरेका उनलाई एमालेका कार्यकर्ताको मन जित्नुपर्ने चुनौती, गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने चुनौती र अघिल्लो कार्यकालमा हुन नसकेका कामका बारेमा आलोचनाका चुनौतीले एकसाथ घेरेको देखिन्छ । आज मध्यरातदेखि मौन अवधि सुरु हुन्छ । मतदाताको घरघर पुगेँ । घरदैलो कार्यक्रम सम्पन्न भयो । चुनावी सभा, चुनावी गोष्ठी, प्रचार प्रसारको कामहरु भयो । विभिन्न संघ, संस्थालाई भेट्ने काम लगभग सम्पन्न भएको छ । जनतासँग मैले आफ्नो कुरा राखेँ । जनताले पनि आफ्नो कुरा राखेका छन् । मैले साढे चार वर्ष वीरगञ्ज महानगरपालिका चलाएका कारणले जनतासँग घुलमिल हुन, जनतालाई आफ्ना कुरा राख्न मलाई कुनै गाह्रो भएन । अर्थात् चुनाव जित्ने गरी नै अभियान आगाडि बढेको छ ।

मैले चार वर्षको अवधिमा थुप्रै काम गरेँ । अझै केही बाँकी छन् । जनताले अहिले पनि बाटोघाटो, नालाको कुरा मुख्य रुपमा उठाउने गरेको पाइन्छ । अहिले पनि हामीसँग बजेटको अभाव छ । स्रोतको अभावमा सोचेजस्तो कार्य गर्न सकिरहेको छैन । स्रोत जुटाउनका लागि करको व्यवस्था गरिएको छ । तर जनताले त्यो कर तिर्न पनि हिचकिचाइरहेका छन् । हामीलाई कोरोना महामारीले निकै डिस्टर्ब ग¥यो । सोचेका काम पनि गर्न सकिरहेको थिएन । कोरोना महामारी नियन्त्रणका लागि मात्र १२ करोड रुपैयाँ खर्च भएको छ । साढे चार वर्ष गरेको कामको चर्चा गर्दै अझ थप काम गर्न हौसला प्रदान गर्ने काम जनताले गरेका छन् ।