देश

सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउछु : देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनको नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’ सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ ।

यहाँ कैलालीबाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’​ सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान पाइँदैन थियो,’ उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँकी रहेका काम पनि पुरा गर्ने छु ।’ घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​