देश

विप्लव समूहबाट फुटेको नेकपा बहुमत पार्टीद्धारा ८ बुँदे प्रतिबद्धता


काठमाडौँ — विप्लव समूहबाट फुटेको नेकपा बहुमत पार्टीले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख गरेको छ । यसको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद, एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त सरकार हुने सो पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पार्टीको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनता हुने विज्ञप्तिमा उल्लेख छ । मुल पार्टी नेकपाभित्र विवाद भएपछि वैशाख २१ देखि २३ गतेसम्म भएको राष्ट्रिय भेलाले नयाँ पार्टी नेकपा बहुमत गठनको निर्णय भएको थियो ।

सोही निर्णयानुसार सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच पार्टी घोषणा भएको हो । घोषणासभामा विशेष राष्ट्रिय भेलाले ७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको छ । यस्तै संसदीय व्यवस्थामा नअल्झिने तथा महँगी, भ्रष्टाचार तथा एमसीसीको विरोध गरिएको छ । यस्तै पार्टीले ८ बुँदे प्रतिबद्धता पनि जनाएको छ। जनतामाथि फेरि पनि धोका नहोस् भनेर राष्ट्रिय भेलाबाट ८ बुँदे प्रतिबद्धता जनाइएको संयोजक धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए ।