देश

पार्टी प्रवेश गर्न चाहानेहरुलाई स्वागत नगरी काठमाडौं फर्किए ओली


काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गर्न चाहानेहरुलाई स्वागत नगरीकनै काठमाडौं फर्किएका छन् । पोखरामा आयोजित आमसभाका बीच ओलीले विभिन्न पार्टी परित्याग गर्न चाहनेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको थियो । तर, समयअभावको कारण देखाउँदै ओली त्यसै काठमाडौं फर्किएका हुन् ।

ओलीले पोखरामा आमसभामा सम्बोधन सकेपछि आफ्नो प्लेन छुट्न लागेको तथा ललितपुर महानगरपालिकाको आमसभामा जसरी पनि पुग्नुपर्ने भएकाले पार्टी प्रवेश गर्न चाहनेहरुका लागि प्रतिनिधि तोकिदिएको बताए । पीएस गुरुङ, सोमनाथ अधिकारी प्यासीलगायतले आफ्नो प्रतिनिधिको रुपमा प्रवेश गर्न चाहनेहरुलाई स्वागत गर्ने ओलीले मञ्चबाटै उद्घोष गरे । उनले आफूले स्वागत गर्न नपाएकोमा बाध्यता बुझिदिन पनि आग्रह गरेका थिए ।