काठमाडौँ — युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ अमेरिकी एक सय एघार हजार अमेरिकी डलरमा बिक्री भएको छ । सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन् । उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लागि बिक्री भएको हो ।
यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडिओ ट्विट गरेको छ । भिडिओसँगै क्याप्सनमा लेखेको छ, थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ । भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ । लन्डनमा आयोजित कोष संकलन कार्यक्रमको मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको दूतावासले जनाएको छ ।
लन्डनमा युक्रेनी दूतावासले टेट आधुनिक आर्ट ग्यालरीमा ब्रेभ युक्रेनु कोषको आयोजना गरेको हो । जसमा युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कीले बच्चाहरूको लागि खेलौना, स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू र जेलेन्स्कीको ज्याकेट कोषको लागि दिएकी हुन् । उक्त कोषमा करिब ७ करोड ७४ लाख रूपैयाँ एक मिलियन अमेरिकी डलर संकलन भएको जनाइएको छ । दूतावासका अनुसार सो रकम विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिनेछ ।
कोषको एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए । रुसले फेब्रुअरीको अन्तमा युक्रेनमा आक्रमण सुरू गरेपछि त्यहाँ भूराजनीतिक उथलपुथल र शरणार्थी संकट निम्त्याएको छ । पछिल्लो अनुमानअनुसार युद्धमा तीन हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् । एजेन्सी


प्रतिक्रिया