Breaking

निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ: प्रचण्ड


पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् । आज सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनाव सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गरेका छन् ।

‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्’ प्रचण्डको अपिलमा भनिएको छ, ‘त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं । प्रचण्डले साँचो अर्थमा जनताले संघीयता महसुस गर्न नपाएको समेत उल्लेख गरेका छन् ।

‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्’ अपिलमा भनिएको छ, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ ।’

प्रचण्डले कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी जस्ता कुराको प्रत्याभूति नभइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्नेमा जोड दिएका छन् ।