Breaking

भोलि मध्यरातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने


काठमाडौँ — स्थानीय तह निर्वाचन सुरक्षाका लागि भोलि मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई भोलि मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ ।

अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन गृह मन्त्रालयले निर्देशन दिइसकेको छ । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका सवारी साधन मात्र गुडाउन पाइने छ । दैलेखको आठविस नगरपालिका मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्ने गाडीमा आगजनी भएको छ ।

उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कार्पियोमा आगजनी भएको हो । आठविस नगरपालिका–४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङमा रहेको गाडीमा गएराति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ । आगजनीमा सम्लग्नको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।