देश

वैशाख ३० गते सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुड्न पाउने


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतदानको दिन वैशाख ३० गते सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले सम्बन्धित सञ्चार माध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र पास पाउने छन् । मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसार पसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइन्छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइन्छ ।

शारीरिक रूपमा अशक्त व्यक्तिहरुका लागि मतदान स्थलसम्म आउ जाउ गर्न पनि अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्नुपर्छ । त्यसरी आउ जाउ गर्दा अशक्त व्यक्तिको साथमा आफ्नै परिवारको एकजना सदस्य रहन पाउँछन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पासको अनुमति लिनुपर्दैन । तर विदेशी नम्बर प्लेटका कुनै पनि सवारीसाधन प्रयोग गर्न पाइँदैन ।

संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्रसंघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतले निर्वाचन आयोगले पास लिनुपर्छ । अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ । मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।