देश

गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य भएको देउवाको उल्लेख


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धमा शकां हुने काम गर्नेलाई पार्टीबाट कारबाही हुने बताउनुभएको छ । आज आइतवार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले गठबन्धन भित्र शकां, उपशकां हुने काम गर्नु नहुने बताउनुभएको हो । उहाँले गठबन्धन विरोधी काम गरेको प्रमाण भेटेमा कारबाही गरिने बताउनुभयो । उहाँले गठबन्धनले गर्दा नेपाली कांग्रेसलाई फाइदा भएको भन्दै गठबन्धन भित्रका अन्य दलहरुको उदारताका कारण कांग्रेस सरकारमा आएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो कस्तो अवस्था थियो गठबन्धन बन्नुभन्दा अगाडी ? आज कांग्रेसको नेतृत्वमा सरकार छ । सबै पार्टी मिलाएर बसेको छ । त्यसकारण कांग्रेसबाट पार्टीका सबै साथीहरुबाट कुनै किसिमबाट पनि हाम्रो तर्फबाट गठबन्धनलाई कुनै किसिमको शकां, उपशंका गर्ने काम गर्नै हुँदैन । त्यो ग¥यो भने मैले तपाईहरुलाई भनिहालेँ प्रमाण भयो भने त्यसलाई कारबाही समेत हुनेछ । पार्टीलाई फाइदा भएको छ गठबन्धनले । प्रचण्डजीले, माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ, त्यस्तै जनता समाजवादी पार्टीले पनि उदार भएर हामीलाई सरकारमा ल्याएको छ । हाम्रो मुख्यमन्त्री बनाएको छ । हाम्रो मन्त्रीहरु बनेका छन् । कांग्रेसको त कर्तव्य हो गठबन्धनलाई सफल पार्ने ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरुको गठबन्धन परास्त नगरे देशमा राजनीतिक दुर्घटना हुने बताउनुभएको छ । उहाँले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताउनुभयो । उहाँले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धनलाई सफल पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘गणतन्त्र गठबन्धन विरोधीहरुको गठबन्धन जो आएको छ, त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा देशमा फेरी राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा र नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपील गर्दै गर्दा कतिपय मानिसहरुले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।

म फेरीपनि गम्भिर रुपले भन्न चाहान्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको हो । यदी यो गठबन्धन दाँयाँबायाँ भयो भने देश फेरी राजनीतिक दुर्घटनामा जान सक्छ । त्यसकारण राजनीतिक दुर्घटनाबाट बचाउनको निम्ति गठबन्धनलाई सफल गर्न म विशेष रुपले अपील गर्न चाहान्छु ।’ नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गर्नुभयो । उहाँले दम्भका कारण केपी ओलीको बिनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि बिनाश हुनुको विकल्प नभएको बताउनु भयो ।