देश

प्रचण्डको धम्क्याएर खाने बानी अझै गएन छ : ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आज आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे । अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला एउटा नेताले के बोल्नुभएको छ ।

ओलीले प्रश्न गरे । उनले भने, ‘चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ । रुखवालाले खुरुखुरु राजीखुशीले भोट हाल्दैनन भने दुर्घटना हुन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु, उत्साहित हुन्छ, १०,१५, २० बर्ष गठबन्धन टिकाइदिन्छु ।’ उनले प्रचण्डमा धम्क्याउने बानी अहिलेसम्म नगएको टिप्पणी पनि गरे । ‘जनतालाई धम्क्याउने, हेर्नुस त धम्क्याउने बानी अहिलेसम्म गएको रहेनछ ।

धम्क्याउने बानी परेकाहरु, धम्क्याएर खाने बानी परेकाहरु अहिलेसम्म पनि गएको रहेनछ ’, ओलीले धम्क्याउने बानी भएपनि अव त्यस्तो जमाना गएको बताए । उनले भने, धम्क्याएर अव चल्दैन, कसैले धम्क्याएर कुनै दुर्घटना हुँदैन, दुर्घटना होइन बरु गठबन्धनले हार्छ । नत्र भन्नेले चिसै पानीले नुहाउँछ ।’ उनले प्रचण्डका छोरीलाई जिताउनुपर्ने तर जीन्दगीभर काँग्रेस भएकाहरुको अवस्था हेर्नुस् त भन्दै प्रश्न गरे । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले फेरि प्रचण्डलाई जिताए काँग्रेसका कार्यकर्ताको हालत २० वर्षसम्म छोरी बोक, छोरो बोक, भाइ बोक, ज्वाई बोक गर्नमै सिमित हुने टिप्पणी गरे । उनले प्रकाशमान र प्रचण्डलाई निर्वाचन आयोगले किन कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।