देश

निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने : राजेन्द्र लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो गरेका छन् । हेटौँडा आयोजित चुनावीसभामा बोल्दै लिङ्देनले आफूले भनेको कुरा मनन गर्नुको साटो उल्टै ठोकुँला झैँ गरेको बताएका हुन् । उनले भने, ‘भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोह थियो । म भर्खरै पार्टीको अध्यक्ष निर्वाचित भएको थिएँ । शुभकामना दिनका लागि मलाई पनि निम्तो दिइयो । शुभकामना दिन जब म माइकको अगाडि पुगेँ । सम्बोधन गर्न मैले नेताहरूलाई हेरे । त्यहाँ देशका ठूला भनिने पार्टीका ठूला भन्ने सबै नेता त्यही हुनुहुन्थ्यो । मलाई मनमा अर्कै कुरा आयो, ओहो यति मान्छे मात्र सुध्रने हो भने त यो देश लाई सुधार्न कसले रोक्न सक्छ र एउटा ट्राई मार्नुपर्‍यो भन्ने लाग्यो ।

कहीँ मेरो बोलीले क्लिक गर्‍यो, हो त भनेर उहाँहरूले सम्झनु भयो र उहाँहरू सुध्रनु भयो भने कसैले आन्दोलन पनि गर्नुपरेन, कसैले गोली खानु पनि परेन, कसैले यो पार्टीको आलोचना पनि गर्नु परेन । उनले राजेन्द्र लिङ्देनमात्र सुध्रेर नहुने बताउँदै काँग्रेस, एमाले र माओवादी पनि सुध्रन जरुरी रहेको जिकिर गरे । तर नेताहरू लर्तरो हिसाबले सुध्रने नदेखिएको पनि बताए । उनले भने, ‘यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके । उहाँहरू कति ठूलो भ्रममा हुनुहुन्छ ।’ उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने जिकिर गरे ।