Breaking

चुनाबको मुखमा ओलीको ६७ बुँदे अपिल


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सम्मुखमा ६७ बुँदे अपिल सार्वजनिक गर्दै आफ्ना विरोधी राजनीतिक दल र शक्तिहरूमाथि आक्रोश पोखेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणा सार्वजनिक गर्दै सत्ता गठबन्धन, गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेस, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत आफ्ना विपक्षीमाथि आक्रोश पोख्दै एमाले आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ आम मतदातासमक्ष प्रस्तुत भएको बताएका हुन् । त्यसक्रममा ओलीले एमालेमा मात्रै देश विकास गर्ने राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास भएको भन्दै राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्न सक्ने सामर्थ्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले रहेको दाबी गरेका छन् ।