देश

वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने : ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए ।

साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताएका छन् । ‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरेका छन् ।