Breaking

नवौं राष्ट्रिय खेलकुद नयाँ चरणमा प्रवेश, देशलाई खेलमय बनाउने लक्ष्य पूरा


काठमाडौँ — अबको लगभग एक महिनापछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । नियमित हुन नसकेको प्रतियोगिता दुई वर्ष ढिलो गरि हुन लाग्दा शनिबार लोगो, मस्कट र नारा सार्वननिक गरिएको छ ।

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको कार्यक्रमबीच मन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट र नारा सार्वजनिक गरेका हुन् ।

दुई वर्ष ढिलो गरि हुन लागेको राष्ट्रिय खेलकुदलाई अपनत्व दिलाउन यो कार्य केही अगाडी नै गर्नु पर्ने हो । यद्यपि केही ढिलै भए पनि लोगो सार्वजनिक गर्न राखेप सफल भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आधारमा देशलाई नै खेलमय बनाउने लक्ष्य लोगो, मस्कट र नारा सार्वजनिक भएसँगै पुरा भएको छ ।

लोगोको माथिल्लो भागमा माछापुच्छ हिमाललाई अंकित गरिएको छ । तल्लो भागमा आकाशे निलो रंगले शान्तिको प्रतीक परेवाको सेप दिएर लोगोलाई बन्द गरिएको छ । बन्द गरिएको लोगोभित्र रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ ।

त्यस्तै सोही ४ धर्साले आयोजना हुने प्रदेश ४ लाई पनि इंगित गरेको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ । त्यस्तै मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ ।

लोगो र मस्कट निर्माणका लागि राखेपले खुल्ला प्रतिष्पर्धा गराएको थियो । जसमा काठमाडौँ मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले डिजाइन गरेको लोगो र मस्कट छनोट हुन सफल भयो । १३ वटा लोगो र ३ मस्कटबाट पौडेलको उत्कृष्ट डिजाइन छनोट भएको हो । प्रतियोगिताका लागि दिएको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा भने सुयोग्यराज काफ्लेले तयार परेको हो ।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ, श्रृजना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रो. राधेश्याम मुल्मी तथा सदस्य–सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मासहित गठन गरिएको ५ सदस्यीय समितिबाट लोगो र मस्कट छनोट गरिएको हो । लोगोको ५० र मस्कटको २५ गरि पौडेलले ७५ हजार र नारा तयार पारेका काफ््लेलाई १० हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, ओलम्पियन दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, छनोट समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

दुई दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्ष ढिलो गरि हुन लाग्दा विभिन्न ३६ खेलमा ११ टिमले सहभागिता जनाउने छन् ।