देश

बागीलाई भोट दिए बर्बाद हुन्छ: रामचन्द्र पौडेल


काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए । ‘यहाँ जनकपुरधाम मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट दिनुहोला ।’ नेपाली कांग्रेसबाट राजीनामा दिएर जनकपुरधामको मेयरका लागि मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलले साहलाई नै इंगित गर्दै बागीलाई भोंट दिएर बर्बाद गर्न नहुने बताए ।

२०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले दिगम्बर रायलाई जनकपुरको मेयरको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिँदै वृषेशचन्द्र लालले जितेका थिए । त्यतिबेला कांग्रेसबाटै असन्तुष्ट भएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका लालकिशोर साह निवर्तमान मेयरले पनि जित हात पारेका थिए । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दामोदारप्रसाद उपाध्यायलाई टिकट दिँदा बजरंगप्रसाद साहले स्वतन्त्र उम्मेदवारी दिएर जित हात पारेका थिए ।