Breaking

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो


काठमाडौँ — नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा घाइते भएकाहरुलाई हेलिकप्टरबाट सुर्खेत लगिएको छ । आठबीसकोट नगरपालिका–३, खदीमा शुक्रबार बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा ७ जना घाइते भएका थिए । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको हो । घाइते तुलबहादुर कामी र शंकर बोहरालाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ । त्यस्तै डिल्लीराज बोहरा र सिता बोहरालाई गाडीमार्फत उपचार गर्न बाहिर लगिएको छ । तुलबहादुर र शंकर माओवादी कार्यकर्ता हुन् भने डिल्लीराज र सिता कांग्रेस कार्यकर्ता हुन् । बाँकी ३ जनाको स्थानीय अस्पतालहरुमै उपचार भएको छ ।

माओवादी केन्द्रका कार्यकर्ताहरु पाटागाउँबाट र्‍यालीसहित खदी पुग्ने बेला कांग्रेस कार्यकर्ताले एक्कासी आक्रमण गरेका थिए । सुरुमा वडाध्यक्षका उम्मेदवारमाथि प्रहार भएको थियो । त्यसपछि भएको झडपमा ७ घाइते भए । जसमा २ जना प्रहरी पनि छन् । सामान्य घाइते भएका प्रहरीका पहिचान खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले झडपको कारण नखुलेको बताए । दुवै पक्षबीच झडप भएकाले त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको र शान्ति सुरक्षा कायम गर्ने प्रयास भइरहेको डिएसपी सोतीले बताए ।

शुक्रबार नै चौरजहारी नगरपालिका–१, मा झडप हुँदा कांग्रेसका वडा सभापतिसहित ३ जना घाइते भएका छन् । कांग्रेस वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता गुमान नेपाली घाइते भएका छन् । विष्ट र गिरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।