Breaking

काठमाडौंमा गठबन्धनको गर्जन, शेखर–गगन खोई?काँग्रेसबाटै भोट भाँडिने डर, गठबन्धनमा शंकैशंका


काठमाडौँ —स्थानीय तहको निर्वाचन आउन एक साता बाँकी रहेका बेला सत्ता गठबन्धनका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त बनेका छन् । बिहिबार चितवनमा सम्बोधन गरेका नेताहरुले आज काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । तर उनीहरुबीच एकआपसमै शंका देखिएको छ ।
चितवनपछि सत्ता गठबन्धनका सबै शिर्ष नेता काठमाडौंको शान्ति वाटिकामा भेला भए, उद्देश्य उही गठबन्धनको साझा चुनावी सभालाई सम्बोधन गर्नु र गठबन्धनकै उम्मेदवारलाई भोट माग्नु ।

चितवन काँग्रेसमाथि आशंका देखाएका प्रचण्डले काठमाडौंमा समेत शंका कायम राखे । रुखले हसिँया हथौडा र हसिँया हथौडाले रुख वा कलममा भोट हाल्न आनाकानी गरे आजको आवश्यकता पुरा नहुने दाबी गरे । उनले दुई मेयरका प्रत्यासीलाई कसैले छोरीका रुपमा र कसैले श्रीमतीका रुपमा प्रचार गरेर महिलाहरुको अपमान गरेको आरोप लगाए । तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई सान्त्वना दिने काम गरे । प्रचण्डले छोरी जन्माउनु र प्रकाशमानले सिर्जनासँग विहे गर्नु दोष नभएको बताए ।

भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेनु दाहाल गठबन्धनको उम्मेदवार बनेकी छन् । काठमाडौंमा काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनासिंह उम्मेदवार बनेकी छन् । दुबै जनाले परिवारका सदस्यलाई टिकट दिएको भन्दै आलोचना हुँदै आएको त्यसकै जवाफ प्रचण्ड–देउवाले दिएका हुन् । तर यसपटक देउवाले आफ्नै पार्टीको विपक्षी समूहमाथि असन्तुष्टि देखाए । महाधिवेशनको ८० प्रतिशतले अनुमोदन गरेर गठबन्धन आवश्यकता औल्याएको उल्लेख गर्दै केही गठबन्धनविरोधी विचार आएको प्रति असन्तुष्टि जनाएका हुन् ।

किनकि गठबन्धनका चुनावी सभालाई संस्थानइतरको नेतृत्व गरेका शेखर कोइरालासहितका नेताहरुले बहिष्कारकै नीति लिएका छन् । चितवनको सभामा सहभागी नभएको शेखर पक्ष काठमाडौंमा समेत सहभागि भएन । वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत गठबन्धन भाड्न पार्टीभित्रैबाट कसरत भइरहेको आरोप लगाए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने देशमा दुई खाले गठबन्धन बनेको दाबी गरे । आफ्नो गठबन्धनलाई प्रगतिशिल भनेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धनलाई दक्षिणपन्थी र राजावादीको आरोप लगाए ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले भने आफुले जिते महानगरलाई महाघर जसरी चलाउने दाबी गरिन् मुलतः गठबन्धनमा आवद्ध दलहरुले भोट खसाल्न एकसाता मात्रै बाँकी रहँदासमेत एकअर्कामाथि आशंका देखाइरहेका छन् ।एकअर्काबाटै भोट नआएर चुनाव हारिने डर गठबन्धनमा जबरजस्त देखिन्छ ।