Breaking

गएको पाँच वर्ष सोलु नगरपालिका भ्रष्टाचारको दलदलमा फस्यो: आङकाजी शेर्पा


काठमाडौँ — सोलुदुधकुण्ड नगरपालिका मेयरका उम्मेदवार आङकाजी शेर्पाले गएको पाँच वर्षमा नाम्गेलजाङबु शेर्पाले नगरपालिकामा भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । नगरपालिकाको मेयर भएदेखि नै नाम्गेल जाङबुले भ्रष्ट आचरणको अभ्यास थालेको एमाले नेता तथा मेयरका उम्मेदवार आङकाजी शेर्पाले आरोप लगाउनुभएको हो । आज सोलुदुधकुण्ड नगरपालिका कुरुङ, घुन्सामा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै शेर्पाले विकासको झुटो पुलिन्दा देखाएर नगरबासीहरुलाई भ्रममा पारिरहेको उहाँको भनाई छ ।

विकासको खास मोडल आफूसंग रहेको बताउँदै नगरपालिकामा मेयरमा विजयी भए ५ वर्षमा नगरपालिकाको मुहार कुनै सुगम शहरको भन्दा कम नबनाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । आधुनिक समयमा आधुनिक तरिकाबाट नगरको विकासका योजनाहरु अघि बढाइनु पर्ने उहाँको भनाई छ । त्यका लागि आफूसंग ५ वर्षे स्पष्ट योजना तयार रहेको र एक दिन पनि आराम नगरी ती योजनाहरु अक्षरसः कार्यान्वयन गर्ने उहाँको भनाई छ । नगरबासीलाई सम्बोधन गर्ने क्रममा शेर्पा यसपटक नगरपालिकाका सबै तहमा एमालेले क्लीन स्वीप गर्ने दावी गर्नुभयो ।

हरेक वडामा ९० देखि ६० प्रतिशतभन्दा बढि मतले एमालेले लिड गरिरहेको उहाँको दावी छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सोलुखुम्बुका लोकप्रिय नेता मानबीर राइले सोलु नगरपालिका मात्रै नभई सोलुखुम्बुका ८ वटै स्थानीय तह एमालेमय बनेको दावी गर्नुभयो । सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले सोलुखुम्बुका हरेक दलसंग एमाले भारी पर्ने बताउनुभयो ।

एमालेले अघि सारेको घोषणा पत्रलाई जनताले अत्याधिक रुचाएकाले एमालेको जीत सुनिश्चित रहेको उहाँको भनाई छ । यस्तै उपमेयरका उम्मेदवार एवं सोलुखुम्बु एमालेकी नेतृ मोहनकुमारी कार्कीले घोषणापत्रमा उल्लेख भएका हरेक योजना ५ वर्षमा सम्पन्न गरिछाड्ने प्रतिवद्धता जनाउनुभयो । कार्कीले समृद्ध नगरपालिकाको सपना पूरा गर्न एमालेको विकल्प कुनैपनि शक्ति हुन नसक्ने टिप्पणी गर्नुभयो ।