देश

आचारसंहिता मिच्दै मन्त्री श्रेष्ठ रेनुको चुनावी प्रचारमा



काठमाडौँ — बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको प्रचार प्रसारमा निरन्तर खटिएको कुरा आएपछि बिहीबार निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोध्यो । बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले चितवनको भरतपुर पुगेर माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालका लागि भोट मागे। पाँच दलको चुनावी सभामै पुगेका राज्यमन्त्री उमेश श्रेष्ठ भने शुक्रबार पनि भरतपुरमै बसेर रेनुको पक्षमा प्रचार प्रसार गरिरहेका छन्। आचारसंहिता मिचेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधिरहँदा मन्त्री श्रेष्ठ रेनुलाई जिताउने अभियानको घरदैलोमै सहभागी भएका हुन्।

प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको चुनावी प्रचारमा सहभागी भएका छन्। शुक्रबार प्रमुख पदकी उम्मेदवार रेनु दाहाल, उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारी र वडाका अध्यक्ष सदस्यहरुको लागि मत माग्दै श्रेष्ठ पनि हिँडेका हुन्। बिहीबार मात्रै पाँच दलीय गठबन्धनले भरतपुरमा चुनावी सभा गरेको थियो। शुक्रबार बिहानैदेखि गठबन्धनले चुनावी घरदैलो कार्यक्रम गरिरहेको छ। त्यही क्रममा वडा ५, २ र १ मा भएको घरदैलो कार्यक्रममा श्रेष्ठ सहभागी भएका हुन्। भरतपुरमा कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि गठबन्धनले सबै शक्ति केन्द्रित गरेको छ। रेनु लगायतका टीम जिताउन कांग्रेसकै उच्च तहका नेताहरु पनि चितवन पुगेका छन्।