काठमाडौँ — ताप्लेजङ स्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा १५ नेपालीसहित कम्तीमा २६ जनाले बिहीबार आरोहण गरेका छन् । पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर ५२ मिनेटमा शिखरमा पुगेका थिए । उनीहरु पछि पायोनियरका १२ नेपाली शेर्पा गाइड र ८ जना विदेशी तथा अर्को कम्पनी सभेन समिट ट्रेक्सका तीन नेपाली र तीन विदेशी गरी कम्तीमा २६ जनाले कञ्चनजंघा आरोहण गरेको दुवै कम्पनीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।
पाओनियरबाट नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा अकितासहित ११ पुरुष छन् भने सेभेन समिटबाट फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दुई पुरुष आरोही छन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाका अनुसार, उनीहरु शुक्रबारसम्म कञ्चनजंघाको आधार शिविरमा आइपुग्ने खबर प्राप्त भएको छ । यसवर्षको बसन्तयाममा आरोहणको सुरुवात चैत २६ गते धौलागिरि हिमालबाट भएको थियो । त्यसदिन १० विदेशीसहित कम्तीमा २४ जनाले धौलागिरि आरोहण गरेका थिए ।


प्रतिक्रिया