Breaking

एमालेलाई भोट माग्ने नैतिक आधार छैन: थापा


काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए ।

उनले भने, ‘एमालेका अध्यक्ष केपी ओलीले एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्यान्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसका लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा नमागीकन, माफीको याचना नगरीकन जनताको बीचमा मत माग्ने नैतिक आधार पनि उनलाई छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।

महामन्त्री थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज प्रदेश, स्थानीय, संघको चुनाव गर्नुपर्थ्यो । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरूमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन । त्यसकारण यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ पनि हो महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको पनि बताए ।