Breaking

जनतासमक्ष माफी माग्नुपर्ने : गगन थापा


काठमाडौँ — सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनु भयो ।

महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोप समेत लगाउनु भयो । उहाँले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताउनु भयो ।