देश

इस्मा गाउँपालिकामा गठबन्धनमा माओवादी फेरि जोडियो


काठमाडौँ — गुल्मीको इस्मा गाउँपालिकाको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एकल उम्मेदवारी दिएको माओवादी केन्द्र फेरि गठबन्धनमा आबद्ध भएको छ । इस्मामा काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल भएको थियो । काँग्रेसले एकीकृत समाजवादीसँग मात्र तालमेल गरेपछि माओवादी केन्द्रले पालिकाका सबै पदमा उम्मेदवारी दियो । काँग्रेसले उम्मेदवारी दर्तापछि माओवादीलाई पनि समेटेर जान तयार हुँदा पाँच दलीय गठबन्धन भएको छ ।

माओवादी केन्द्र इस्मा गाउँ कमिटी अध्यक्ष बसन्त सुनारले काँग्रेसले माओवादीको आवश्यकता महसुस गरेपछि गठबन्धन मजबुद बनाएर अगाडि बढ्ने निर्णय गरेको बताए । इस्मा गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका साझा उमेदवार भगतसिंह खड्काले माओवादी केन्द्रसहितको गठबन्धन बनेपछि जित सहज भएको दाबी गरे । उनले भने, सुरुमा केही कुराहरुमा सहमति जुट्न नसकेका कारण माओवादी केन्द्रसँग तालमेल हुन सकेको थिएन । पछि हामीसँगै रहेर बृहत छलफल गरियो र गठबन्धनलाई बलियो भनाएर लैजाने गरि अगाडि बढिएको हो ।