Breaking

सोलु नगरमा एमालेले ‘क्लीन स्विप’ गर्छ: आङकाजी शेर्पा


सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका मेयरका उम्मेदवार आङकाजी शेर्पाले यस पटकको निर्वाचनमा एमालेले क्लीन स्विप गर्ने बताउनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानमा तिङलाका जनतालाई सम्बोधन गर्दै शेर्पाले यस पटक एघार वटै वडामा एमालेको जीत सुनिश्चित रहेको दावी गर्नुभएको हो । आफूले नगरपालिकाको मेयरमा ६० प्रतिशत मत ल्याएर विजयी हुने बताउनुभयो । बाँकी ४० प्रतिशत मत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरुलाई पर्ने उहाँको दावी छ ।

आफू मेयर पदको उम्मेदवार हुँदा नगरबासीमा छुट्टै उत्साह छाएको र मतदाताहरु बैशाख ३० मा आफूलाई मतदान गर्न आँतुर रहेको टिप्पणी गर्नुभयो । नगरबासीहरुले गएको ५ वर्षमा मेयर नाम्गेल जाङबु शेर्पाले कसैलाई काखा कसैलाई पाखा गरेको गुनासो गरेको आङकाजी शेर्पाको भनाई छ । अघिल्लो कार्यकाल नगर प्रमुखको जस्तो व्यवहार भए पनि आफू विजयी भए नगरपालिकाका जनताको सुविधा र विकासका लागि आफू चौविसै घण्टा तयार रहने बताउनुभयो । तिङलाका जनताले अघिल्लो पटक निर्वाचन प्रक्रिया नै बहिस्कार गरे ।

यस पटक आफ्नै गाउँकी चेली मोहनकुमारी कार्की एमालेबाट उपमेयरको उम्मेदवार पाएपछि तिङलाली जनता खुसी देखिएका छन् । उनीहरुले एमालेको सबै उम्मेदवारहरुलाई विजयी गराउन मतदान गर्ने उम्मेदवारहरुलाई आश्वासन दिएका छन् । तिङ्लाबाट नेपाली काङ्ग्रेसका नगर सदस्य भेष कुमार मगर लगायत पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।