Breaking

सर्लाहीमा आचार संहिताको खुलेआम उलंघन, उम्मेदवारद्वारानै भारतीय नम्बरको गाडी प्रयोग


काठमाडौँ — स्थानीय तह निर्वाचन आउन अव मात्र ८ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै दलहरुले आफ्ना गतिविधि तीब्र बनाएका छन् । यसै क्रममा विभिन्न जिल्लामा निर्वाचन आचारसंहित उल्लंघनका घटनाहरु पनिबढिरहेका छन् । निर्वाचन आयोगले सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दल तथा उमेदवारको झण्डा राख्न नपाइने आचारसंहितामा उल्लेख गरेको छ, तर सर्लाहीमा भने यसको खुलेआम उलंघन भइरहेको पाइएको छ । जिल्ला भरीका शहर, बजार तथा गाउँमा मठ मन्दिर, पार्क, विद्यालयहरुमा निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवारको चुनाव चिन्ह अंकित झण्डा, तुल, ब्यानरहरु राखिएको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने उल्लेख रहेको छ । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत पर्ने चमेली माई लगायत अन्य विभिन्न मठ मन्दिर देवालयहरु तथा धार्मिक पर्यटकीय स्थलहरुमा नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह अंकित झण्डाहरु झुण्डियाइएका छन् । यस्तै निर्वाचन आचार संहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । तर स्थित भने ठ्याक्कै यसको विपरीत देखिएको छ । बजारमा झण्डाको लहर र झण्डाको माला झुण्ड्याइएका छन् । रुखको अवस्था पनि उस्तै भएको छ । रुखमा पात भन्दाबढी झण्डाहरुनै झुण्डिएको देख्न सकिन्छ । चुनावी प्रचारप्रसारमा बालबालिकाहरुको समेत प्रयोग भएको देखिन्छ ।

जबकी आचार संहितामा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख छ । यसैगरी भारतीय नम्बरको सवारीसाधनको प्रयोग गर्न र डिजे बाजा बजाएर प्रचार गर्न नपाइने आचार संहितामा उल्लेख गरिएको भएपनि त्यसको पालना कुनैपनि दल तथा उमेदवारले गरेका छैनन् । उमेदवारहरु स्वयं भारतीय नम्बर प्लेटको गाडीमा चढेर घरदैलो गर्दै घुमिरहेका छन । यसरी त्यस्ता राजनितीक दलहरुले सार्वजानिक स्थलमा पार्टीको झण्डा झुण्डियाएर शहर, बजार र गाउँलाई कुरुप बनाएको भन्दै बुद्धिजीवीहरुले आक्रोश व्यक्त गरेका छन् । नियमन निकायले यसको निगरानी र कार्यवाही गर्नुपर्ने उनीहरूले बताएका छन् ।

जिल्लामा निर्वाचन आचार संहितको व्यापक रुपमा उलंघन भइरहेको जानकारी पाए लगत्तै जनप्रतिनिधिहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर आचार संहिताको पालना गरिदिन निर्देशन दिई सकेको र यसका लागि सूचना समेत जारी गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए । दल तथा उमेदवारहरुलाई उक्त आचार संहितको पालना गर्न सूचना मार्फत जानकारी गराइसके बाबजुद सोको पालना नगर्नेलाई प्रचलित कानुन अनुसारको कडा कार्यवाही गरिने सहायक प्रजिअ अधिकारीले बताए ।

पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्छा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचार संहितामा उल्लेख छ ।