Breaking

गठबन्धनको घरदैलो चुनावी अभियान देउसी जस्तै देखिन्छ: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् । बिहीबार कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन । ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर झस्कने गरेको बताए ।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन् ।’ गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाए । कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन्,’ उनले भने, ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन ।’