Breaking

घरेलु मैदानमा नेपाललाई ऐतिहासिक सफलता, पछि परेको नेपालले गर्यो जिम्बावे ए सँग सिरिज बराबरी


काठमाडौँ — हाल नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग २ को तयारीमा व्यस्त छ । त्यसैको तयारी स्वरुप घरेलु मैदानमा खेलिएको सिरिजमा पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध सिरिज बराबरी गर्न सफल भएको छ ।

नेपालले जिम्बावे ए सँगको टी२० क्रिकेटको सिरिज बराबरी बनाएको छ । बुधबार त्रिवि मैदानमा भएको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सिरिज एकएकले बराबरी गर्न सफल भएको हो ।

टस जितेर पहिले बलिङ रोजेको कप्तान सन्दीप लामिछानेको निर्णय नेपालका लागि सही सावित हुन पुग्यो । जिम्बावे ए ले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच भएको राम्रो साझेदारीको सहयोगमा नेपालले सहज जित निकाल्न सफल भएको हो ।

अन्तिमसम्म अविजित रहेका आसिफले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरि ८७ रन बनाए । त्यस्तै, २६ बल खेलेका अर्का ओपनर भुर्तेलले पनि दुई चौका र दुई छक्काको मद्दतले व्यक्तिगत ३४ रन जोडे ।

उनी ब्रान्डन माभुताको बलमा बोल्ड हुन पुगेका थिए । पहिलो विकेटका लागि उनीहरुबीच ८८ रनको साझेदारी भएको थियो । तेस्रो नम्बरमा व्याटिङ गर्न आएका बशिर अहमद भने १० रनमा नै पेभिलियन फर्के ।

उनलाई लुक जोग्वेले आउट बनाएका थिए । पहिलो व्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा खेल्दै ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । उसका लागि रोय काइयाले सर्वाधिक ४९ रन बनाए ।

अर्धशतक बनाउनबाट एक रनले चुकेका काइयाले ४१ बलमा सात चौका प्रहार गरे । यस्तै, तडिवानासे मरुमणिले २७, लुक जङ्वेले २३ र इनोसेन्ट काइयाले १४ रन जोडे ।

जिम्बाववेलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले दुई विकेट लिएका थिए भने बसिर अहमेद र सोमपाल कामीले समान एक एक विकेट लिए । दुई व्याट्सम्यान भने रन आउट भएका थिए ।

टी २० शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो ट्वान्टी २० खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन । टी २० शृंखलासँगै नेपालले जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।