Breaking

दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर हुंदैन: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताएका छन् ।एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलाम पुगेका उनले माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै नेता खनाल र माधवकुमार नेपालको आलोचना गरे । उनले एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने टिप्पणी गरे । कसैले पार्टी छोडेर गयो भन्दैमा, एक दुईवटा पात झरेर गयो भन्दैमा न रुख नांगा हुनेछ न पार्टी रितिनेछ’ उनले भने ‘एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुन्छ ।’ अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन र कांग्रेसप्रति पनि कटाक्ष गरे ।

‘कांग्रेसीहरुलाई भन्न चाहन्छु तपाईहरुको छोरा छोरीलाई झन्डा दिनुहोस र भन्नुस त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्’ उनले भने । ओलीले पार्टी छाडेर जाने कार्यकर्ताहरुलाई फर्कन अपिल गरे । उनले नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाकोमा भान्सामा गएको विरालोको संज्ञा दिए । ‘संसदमा एक पटक मैले शेरबहादुरजीलाई भनेको थिएँ हाम्रा भान्साका बिरालो त तपाईंकोमा देख्छु नि । अलि अलि खान दिनुस किन पर्खाएर राखेको उनले भने । लारुम्बामा किरात धर्मगुरुलाई भेटेर ओलीले माई नगरपालिकामा सम्बोधन गरेका हुन् ।