देश

चुनावपछि काँग्रेसको सरकार बने ६५ वर्षमै वृद्धभत्ता दिन्छौ: देउवा


काठमाडौँ — प्रधानमन्त्री देउवाले निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था गर्ने बताएका छन् । उनले यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आवस्यकता भएकाले नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको बताएका हुन् ।

अहिले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको छ यो अहिलेको राष्ट्रिय आवस्यकता अनुसार बनेको हो’, गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्दै देउवाले भने, ‘मलाई प्रधानमन्त्री बन्ने रहर नै थिएन ।’ उनले आफू प्रधानमन्त्री भएपछि कुनै डर त्रास नरहेको भन्दै गठबन्धनको सरकारले प्रजातन्त्रलाई सुदृढ गर्ने उदेश्य रहेको बताए । उनले गठबन्धनप्रति कुनै शंका उपशंका गर्ने काम गर्न नहुने भन्दै काँग्रेसले गठबन्धनलाई धोका दिन नसक्ने बताए । उचाल्ने पछार्ने मान्छे धेरै हुन्छन्, धेरै स्वार्थ होलान् तर काँग्रेसले कुनै हालतमा गठबन्धन भंग गर्ने काम गर्दैन’, देउवाको भनाइ छ ।