देश

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने


काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । आज बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने बताउनुभयो । उहाँले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरुमा निर्वाचनपूर्व पनि अनुगमन हुने उल्लेख गर्नुभयो । आयोगका सदस्य डा. सूर्य ढुंगेलको नेतृत्वमा मधेश प्रदेश, मिहिर ठाकुरको नेतृत्वमा गण्डकी प्रदेश, मनोज दुवाडीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश र लिली थापाको नेतृत्वमा प्रदेश नम्बर १ मा अनुगमन हुने उहाँले जानकारी दिनुभयो ।