देश

टिकट खोसिएपछि कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड


काठमाडौँ — चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् ।

कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन् । कांग्रेसले नगर सचिव समेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो । अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।