Breaking

कलाकार किन तछाड मछाड गरेर पार्टी प्रवेश गरिरहेका छन् ? के छ स्वार्थ ?


काठमाडौँ — निर्वाचन नजिएसँगै सिंगो देश चुनावमय बनेको छ । हरेक क्षेत्रमा स्थानीय निर्वाचनको प्रभाव परेको छ । त्यसमा पनि कला क्षेत्रले त यस निर्वाचनलाई राजनीति प्रवेशको प्रस्थान विन्दुको रुपमा उपभोग गरिरहेको छ । रंगिन पर्दामा देखिएर लोकप्रियता हासिल गरेका कलाकार यति बेला तछाड मछाड गरेरै राजनीतिमा होमिइरहेका छन् । ठूला कलाकारहरु ठूलै भागको आश गरेर नेताहरुको पछि लागेका छन् भने सानो प्रोफाइलका कलाकारहरु सानै पदमा चित्त बुझाउँदै राजनीतिमा लागेका छन् । अहिले साना कलाकारहरु स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा देखिएका छन् । ठूला कलाकारहरु चाहीँ पछि सांसद वा अरु कुनै नियुक्तिको आशमा एक न एक पार्टीको छत्रछायाँमा लागीरहेका छन् ।

कुनै समय रेडियो नेपालमा समाचार भनेर होस की लोक दोहोरी गाएर चर्चामा रहेकी कोमल वलीले एका एक छलाङ मार्दै राप्रपा नेपालमा प्रवेश गरीन् । राप्रपामा प्रवेश गरेर जनताको पार्टी राप्रपा भन्न नभ्याउदै कोमल वली अर्का ओली केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा हाम फालिन् । राप्रपाबाट एमालेमा छलाङ मारेकी कोमलवली पछि राष्ट्रियसभा सदस्य भइन् । सांसद् समेत हुन भ्याएकी कोमल अहिले एमालेको सक्रिय राजनीतिमा छिन् । कोमल पछि अभिनेत्री रेखा थापाले पनि राजनितीको फेरो समातिन् । कुनै बेला सिंहदबार अगाडी प्रचण्डसँग कम्मर मर्काएर नाचेकी रेखालाई पनि प्रचण्डले लामो समय माओवादीमा टिकाउन सकेनन् । उनि पछि राप्रपामा प्रवेश गरिन् अहिले पनि रेखा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राप्रपा बाटै राजनीति गरिरहेकि छिन् । कलाकार राजनीतिमा होमिएको लामै लिष्ट छ ।

आफुलाई सदाबहार अभिनेत्रीको रुपमा प्रस्तुत गर्ने करिश्मा मानन्धरले पनि यो मुलुकको विकल्पका रुपमा नयाँ शक्ति पार्टीको उदय भयो भन्दै बावुराम भट्टराईले नेतृत्व गरेको तत्कालिन नयाँ शक्ति पार्टीमा प्रवेश गरिन । नयाँ शक्तिमा लामो समय अडिन नसकेकी करिश्मा केहि समय मौन बसे पनि फेरि अहिले एकाएक सूर्य कुमारी भएर उदाएकी छिन् । करिश्मा अहिले एमाले प्रवेश गरेकी छिन् । एमाले प्रवेश गरेपछि सक्रिय राजनितीमा लागेकी करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी रहेको भन्न समेत भ्याइन् । आफ्नो न्वारानको नाम सार्वजनिक गरेपछि चर्चा र आलोचना दूबै बटुलेकी करिश्मा अहिले एमालेको सक्रिय राजनितीमा लागेकी छिन् । उनि पार्टीको सभा सम्मेलनमा समेत पुग्न थालेकी छिन् ।

कोमल, रेखा र करिश्मा राजनितीमा दौडिदै गर्दा सँगैका सहयात्री भुवन केसी र स्वेता खड्काले पनि औपचारीक रुपमा राजनितीक दलको झण्डा बोकेका छन् । कुनै बेला एमाले निकट मानिने भुवन केसी कांग्रेसमा प्रवेशमा गरेका छन् । भुवनसँगै अभिनेत्री स्वेता खड्का पनि कांग्रेस प्रवेश गरिन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले केसी र खड्कालाई बालुटारमै कार्यक्रमको आयोजना गरेर कांग्रेसमा भित्र्याए । यी ठूला प्रोफाइलका कलाकारहरु मात्रै होइन अलि कम प्रोफाइलका कलाकारहरु पनि आफ्नो औकात अनुसारको पार्टीको फेरो समातेर नेता बन्ने दाउनमा छन् । स्थानीय तहमा दर्जन भन्दा बढि नाम चलेका कलाकारहरु उम्मेदवार बनेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह बाहेक, राप्रपाबाट मदनदास श्रेष्ठ, वडा सदस्यमा किशोर भण्डारी डिट्ठासाब लगायतका कलाकारहरुमा राजनीतिक रहर जागेको छ । यसरी पार्टीमा सक्रिय बनेका कलाकारहरु विसुद्ध जनताको सेवा गर्न नै राजनीतिमा लागेको दाबी गर्छन् । मदनदास श्रेष्ठ, काठमाडौं महानगरको लागि मेयरका उम्मेद्वार, राप्रपा कलाकारले दर्शक स्रोताबाट पाएको माया र लोकप्रियतालाई यति बेला लगेर राजनितीसँग साटीरहेका छन् । सायद ढल्कीदो उमेर र नयाँ पुस्ता हाबी भएर पनि होला कलाकारीता क्षेत्रबाट पलाएन हुँदै गएका अहिलेका यी कलाकारहरुले राजनीतिमा नै आफ्नो भविष्य खोजिरहेका छन् ।