विदेश

राहुल गान्धी क्लब गएकोबारे भारतीय कंग्रेसको स्पष्टीकरण


काठमाडौँ — नेपाल भ्रमणमा आएका नेता राहुल गान्धी नाइट क्लब गएकोबारे भारतीय कंग्रेसले स्पष्टीकरण दिएको छ । सोमबार साँझ भिस्तरा एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी राति ठमेलस्थित लर्डस् अफ ड्रिंग्स एलओडी गएका थिए। आफ्ना साथीहरूसँग त्यहाँ पुगेका उनको भिडिओ क्लिप बाहिरिएपछि भारतमा हलचल भएको थियो । भिडिओ क्लिप बाहिरिएपछि भाजपाका नेताहरूले ट्विट गर्दै गान्धीको आलोचना गरिरहेका छन् । भाजपाको राष्ट्रिय सूचना र प्रविधि विभागका इञ्चार्ज अमित माल्भानीले उक्त भिडिओ राखेर आलोचना गरेका हुन् ।

यस्तै भाजपाका प्रवक्ता शहजाद जयहिंदले राजस्थान जलिरहँदा उनी पार्टी गरिरहेको भन्दै ट्विट गरेका छन् । राजस्थान जलिरहेको छ तर बाबा पार्टी गरिरहेका छन् । कंग्रेस पार्टी खत्तम होला तर पार्टी चलिरहन्छ । यो पार्टी यसरी नै चलिरहन्छ। पार्टी टाइम नेता,’ उनले ट्विटमा लेखेका छन् । त्यसबारेमा कंग्रेसका प्रवक्ता रन्दीप सुर्जेवालाले मंगलबार मिडिया ब्रिफिङमा आफ्ना साथीको विवाह समारोहमा जानु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन् । भारतीय जनता पार्टी भाजपा नेताहरूले विरोध गर्न थालेपछि कंग्रेसले गान्धीको बचाउ गर्दै स्पष्टीकरण दिएको हो । सुर्जेवालाले उक्त घटना सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफकी छोरीको विवाहमा पुग्नुभन्दा कम गम्भीर भएको बताए ।

राहुल गान्धी पाकिस्तान गएका हैनन् जसरी प्रधानमन्त्री मोदी नवाज शरिफसँग केट काट्न गए,’ उनले भने, ‘गान्धी नेपालमा आफ्नी पत्रकार साथीको विवाहमा सहभागी हुन गएका हुन्। त्यसमा केही समस्या छैन । यो संस्कृतिको कुरा हो । अपराध होइन । सायद प्रधानमन्त्री र भाजपाले छिट्टै साथी र परिवारको विवाहमा जानु अपराध हो भनेर निर्णय गर्नेछन् । गान्धी आफ्ना साथीको विवाह समारोहको लागि आएका हुन्। यसबारे नेपाल सरकार र प्रहरीलाई कुनै जानकारी दिइएको थिएन ।