Breaking

चुनाव चिह्न वितरणसँगै प्रेस सञ्चालकलाई प्रसारप्रचार सामग्री छाप्न भ्याई नभ्याई, प्रचारप्रसार सामग्री छाप्न कुर्नु पर्ने


काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी चिह्न पाएसँगै दल र स्वतन्त्र तर्फका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा अग्रसर बनेका छन् । चुनाव प्रचारप्रसार समिति नै बनाएर अघि बढेका दलहरु अहिले प्रचारप्रसारका सामग्री बनाउनमा खटिरहदा छापाखानामा भीडभाड थेगिनसक्नु छ । तीन दिनको मौनावधिलाई छोडर हेर्ने हो भने निर्वाचन आउन अब जम्मा ८ दिनमात्र बाकीँ छ । यस्तोमा निर्वाचन प्रचार प्रसार सामग्री छपाउन व्यवसायीलाई भ्याइ नभ्याई छ ।
स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएका दल र स्वतन्त्रका उम्मेदवारका लागि निर्वाचन आयोगले चुनावी चिह्न वितरण गरेको छ । योसँगै मतदाता रिझाउन चुनाव चिह्नको प्रचार प्रसार गर्दै राजनीतिक दलहरु जनताको घरदैलोमा पुग्न थालेका छन् । जसका लागि राजनीतिक दलहरुले प्रचारप्रसार समिति पनि धमाधम गठन गरिसकेका छन् ।


उम्मेदवारहरुलाई आफ्ना घोषणापत्र, प्रतिबद्धतापत्र, चुनाव चिह्नलगायतका समेटिएको प्रचार प्रसार सामग्री तयार गर्न न्याइनभ्याइ छ । चुनावी प्रचार प्रसारकै लागि प्रमुख राजनीतिक दल त आफ्ना चुनावी गीतसहित जनतामाझ उपस्थित हुन्छन् । प्रचारप्रसार गर्न उम्मेदवारहरुलाई भोट मागेर मात्रै पनि नभई आफ्नो चुनाव चिह्न पनि स्थापित गराउनु छ । प्रमुख भनेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको आफ्नो चुनाव चिह्न स्थापित छदैछ । एकीकृत समाजवादी जसले कलम चिह्न पाएको छ । उसलाई पनि कलम चिह्न स्थापित गर्नुछ भने अरु दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई पनि आफ्नो चुनाव चिह्न स्थापित गराउनु पर्ने छ । प्रचार प्रसारका लागि आवश्यक सामग्री झण्डा, चुनावी चिह्न, पम्प्लेट बनाउन प्रेसवालालाई अहिले भ्याई नभ्याई भएको छ । छापाखाना सञ्चालन गरेर बसेका व्यवसायीहरु अहिले यसै काममा व्यस्त छन् । यता पार्टीलाई पनि प्रचारप्रसार सामग्री बनाउन पालो कुर्नु परिरहेको छ ।

निर्वाचन संहिता २०७९ का अनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पाद गर्न, प्रयोग गर्न बिक्री वितरण गर्न वा प्रदर्शन गराउन प्रतिबन्ध छ । आयोगले बढी तडकभडक गर्न प्रतिबन्ध लगाएता पनि यस्ता खालको क्रियाकलापको निर्वाचन आयोगले अनुगमन गर्छ कि गर्दैन त्यो भने हेर्न नै बाँकी छ । उम्मेद्वारहरुले घर दैलो कार्यक्रममा भोजभतेर देखि अनेकन् बाहनामा पैसा खच गर्ने निश्चित छ । दलका उम्मेदवारहरु फेरि पनि पाँच वर्षपछि आफ्नो उद्देश्य र सपना लिएर जनताको माझ आउँदै गर्दा अब पनि जनता भने सचेत हुनुपर्ने देखिन्छ । ताकि आगामी पाँच वर्ष फेरि पनि आत्मालोचना गर्न नपरोस् ।