Breaking

आयोगले स्थापितलाई आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोध्यो


काठमाडौँ — काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले सोमबार स्थापितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । केशव स्थापित, महिला पुनर्स्थापना केन्द्र ओरेक र नेशनल कलेजलाई स्पष्टीकरण सोध्ने आयोगले निर्णय गरेको छ । तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो, प्रवक्ता पौडेलले भने ।

ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उनले जानकारी दिए । स्थापितले चुनाव प्रचारका क्रममा दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी आएको पौडेलले बताए । उजुरी आउने लिखित, मौखिक र फोन माध्यम भएको त्यस्तै उम्मेदवारले दिएका अभिव्यक्तिका समाचार सञ्चार माध्यममा पढेर पनि आयोगले स्पष्टीकरण सोध्ने गरेको उनको भनाइ थियो ।