राजनीति

तिलोत्तमाका मेयरलाई आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले गरायो ध्यानाकर्षण


काठमाडौँ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निरन्तर आचारसंहिता उल्लघन गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन अधिकृत तिलोत्तमा प्रमुख माधवप्रसाद लोहनीले मेयर घिमिरेले आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘ मेयर साहेब आफै जान्ने व्यक्ति हो । तर उहाँले आचारसंहिता नमानेपछि आयोगले पत्र पठाउने विषयमा छलफल भएको छ ।’

मेयर घिमिरे एमालेका तर्फबाट प्रमुखका उम्मेदवारलाई जिताउन खुला रूपमा प्रचार प्रसार हिँडेका थिए । आइतबार राति एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आचारसंहिता विपरीत आफू चुनावी प्रचारमा आएको बताएका थिए ।

तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनले पाटीले दिएको जिम्मेवारी पुरा गर्दा आचारसंहिता आफूलाई मात्र लाग्ने तर केन्द्रीय नेताहरूलाई चाहिँ नलाग्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।