Breaking

निजी शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा नहुने! सरकारको निर्णय नमान्ने धम्की


काठमाडौँ – निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सरकारले उनीहरुले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरुको आरोप छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।

उनले हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताए । महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पारे ।

सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताए । त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए ।

उनले कर्मचारीहरुलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए । सचिव पराजुलीले सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्व नराख्ने धारणा राखे ।

सचिव पराजुलीले सरकारले सूचना निकालेर बन्द गर्नुपर्ने भन्दैमा शिक्षालाई मास्न नसकिने बताए । सरकारले गत मंगलबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयको पक्ष र विपक्षमा यतिवेला चर्चा चुलिएको छ ।