Breaking

भरतपुरमा यस्ता छन् रेणुलाई चुनौती,कांग्रेसको वागीले एमालेलाई पनि घाटा


काठमाडौँ – चुनावीे बाँडफाँडमा जसोतसो सहमति जुटाएको सत्ता गठबन्धन बागीको व्यवस्थापन गर्न नसक्दा महानगरमै असफल देखिएको छ । स्वतन्त्र भन्दै वागी बनेकाहरुले निर्वाचन चिह्न पाएपछि अझ सक्रियता बढाएका छन् । अधिकांश स्थानीय पालिकामा सहमति कार्यान्वयन नहुँदा चर्चाको केन्द्र भरतपुर मै गठबन्धनलाई बढि समस्या देखिएको छ ।

भागवन्डा र चुनावी तालमेलको विरोध गर्दै आएकाहरुबाट परेको बागी उम्मेदवारी व्यवस्थापन गर्न नसक्दा निर्वाचनको मुखमा सत्ता गठबन्धनलाई चुनौती थपिएकोे छ । केन्द्रबाट निर्णय गर्दै कहिले धम्काउने त कहिले अपिल गर्ने कार्य भएपनि त्यसको असर वागी उमेद्धारमा देखिएको छैन । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो ।

केन्द्रको सहमतिअनुसार नै माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र कांग्रेसबाट उपप्रमुखमा चित्रसेन अधिकारीले उम्मेदवारी परेको भएपनि कांग्रेसकै नेता जगन्नाथ पौडेलले दाँतमा ढुंगा बनेका छन् । अनेक दवावका बीच पनि उम्मेदवारी फिर्ता नगरेका पौडेलले निर्वाचन चिह्न पाएसंगै घरदैलो कार्यलाई तिव्र बनाएका छन् ।

कांग्रेसबाट उम्मेदवार आफू मात्र भएकोले वागी नभन्न आग्रह गर्दै आएका उनको सक्रियताले गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई भने चुनौती थपिदिएको छ । २०७४ को निर्वाचनमा समेत कांग्रेसकै मतका कारण २ सय ३ मतको झिनो मतान्तरले विजयी दाहालको नतिजा गठबन्धनसंगको भविष्यसंग समेत जोडिएको छ ।

तीन वडामात्र जितेको माओवादी हराउन एमालेलाई कांग्रेसको सानो अन्तुष्टि नै प्रयाप्त देखिन्छ । फलत ः शिर्ष नेताहरु पौडेललाई पछि हट्न बाध्य पार्ने रणनीतिमा भएपनि उहाँले उम्मेदवारी फिर्ता नगरेपछि संकट अझ गहिरिएको छ ।

पोखरामा दुई जना वागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपनि ईपिसेन्टर भरतपुरको अवस्थाले माओवादी आत्तिएको छ । पौडेलपछि नहटेपछि उनी सहित उनका प्रस्तावक र समर्थकलाई पार्टीले कारबाही गरिसकेको छ ।

आईतबार बसेको निर्वाचनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बैठकले समेत गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गरी चुनावमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने समेत गरिएको छ ।

तर गठबन्धनको यतिका प्रयासका बाबजुद पनि विभिन्न स्थानमा बागी र स्वतन्त्र उम्मेदवारहरू कायम छन् भने चिन्ह पाएसंगै सक्रियता अझै बढाँउदै लगेका छन । जसले गठबन्धनको प्रभावकारीतामाथि प्रश्न उठेको छ भने विपक्षी एमाले भने यसैको फाईदाँ उठाउने तयारीमा छ । गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गठबन्धनभित्रका दलहरुले अर्काे गठबन्धन तयार पार्दा अन्योलता बढेको छ ।

उमेद्धारी फिर्ताको समय सकिएपनि बागीलाई आफू पछि हटेको र कुनै एक उमेद्धारलाई समर्थन गर्ने अवस्था बनाउन भने दलहरु लागि परेका छन । जुन उनीहरुका लागि अन्तिम अश्त्र भएपनि फिर्ता नभएका उमेद्धारहरु यो विकल्पमा समेटिने सम्भावना कम छ । भरतपुर लगायत केही प्रतिष्ठित शहरमा देखिएको वेमेलले गठबन्धनको भविष्यमाथि प्रश्न चिन्ह खडा गरेको छ ।