Breaking

देउवाको ठाडो आदेशमा सिंह बने आइजीपी, वरिष्ठलाई पाखा–कनिष्ठलाई काखा


काठमाडौँ – नेपाल प्रहरीको नेतृत्व सरकारले धिरजप्रताप सिंहलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चार जना प्रतिस्पर्धीमध्ये तेस्रो वरियतामा रहेका सिंहलाई आइजीपी नियुक्त गरेको हो । जसले पुनः एकपटक सुरक्षा संगठनमा हलचल ल्याएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबनधनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकै शिर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आईजीपी नियुक्तिबारे सचेत गराएका थिए ।

वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई च्याप्न खोज्दा नकारात्मक सन्देश जाने उनीहरुको सुझावलाई सुन्नै नचाहेका देउवाले आफुले धिरजप्रताप सिंहलाई वचन दिइसकेको भनेपछि अबको आईजीपी को होला भन्ने सहजै आकलन गरिएको थियो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले चार जना प्रतिस्पर्धीमध्ये तेस्रो वरियतामा रहेका धिरिजप्रताप सिंहलाई नेपाल प्रहरीको अबको नेतृत्व सुम्पिएको छ ।

तर प्रधानमन्त्री देउवाले सुरक्षा संगठनको चेन अफ कमाण्ड नै भत्किने गरि ‘आफूले रुचाएका’ सिंहलाई बढुवा गरेको भन्दै आलोचना भइरहेको छ । डेढ वर्ष सिनियर एआईजीपी विश्वराज पोखरेल र १० महिना सिनियर सकुलबहादुर थापालाई पन्छाएर प्रधानमन्त्री देउवाले १ महिनाअघि मात्रै एआइजीपी बनेका सिंहलाई प्रहरीको महानिरीक्षकमा बढुवा गरेका हुन् ।

जसबाट असन्तुष्ट बनेका एआइजीपीद्धय पोखरेल र थापा सर्वाेच्च जाने तयारी गरेका छन् । उसो त प्रहरीमा नेतृत्व चयन गर्दा जेष्ठता, योग्यता र क्षमताभन्दा बाहिरबाट नेतृत्व चयन गर्ने गलत थिति प्रधानमन्त्री देउवाले तेस्रोपटक दोहो¥याएका हुन् । यसअघि २०४९ मा गृहमन्त्री हुँदा देउवाले महानिरीक्षक रत्नशमशेर राणालाई ३० वर्षे सेवा अवधि लगाएर अवकासमा पठाएपछि मोतिलाल बोहरालाई नेतृत्वमा ल्याएका थिए ।

दोस्रोपटक वरियताको तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई महानिरीक्षक बनाएपछि भने प्रहरीमा पुनः भाँडभैलोको श्रृंखला सुरु भएको थियो । त्यतिबेलाका प्रतिस्पर्धी नवराज सिलवाल सर्वाेच्च अदालतसम्मै पुगेको थिए । देउवाले तेस्रोपटक प्रहरीको चेन अफ कमाण्डमै खलल पु¥याएको भनेर आलोचना भएपनि सत्तापक्षका नेताहरुले यसलाई प्रधानमन्त्रीले विश्वास पात्र चयन गरेको अर्थमा बचाउ गरेका छन् ।

पछिल्लोपटक शैलेश थापा क्षत्री करिब २ वर्षदेखि नेतृत्वमा रहेर सोमबारबाट अवकासमा जाँदैछन । उनको उत्तराधिकारीका रुपमा देउवाले एआईजीपी सिंहलाई नेतृत्वमा ल्याएका हुन् । प्रश्न व्यक्ति को आउने भन्दा पनि राजनीतिक नेतृत्वको ठाडो हस्तक्षेपले संस्थानै रहने कि नरहने भन्नेमा केन्द्रित छ । तर, सरकारको यो निर्णयले नेपाल प्रहरीमा भाँडभैलोभइरहँदा सशस्त्र प्रहरी बलको नेतृत्वमा भने एकल दाबेदारका रुपमा रहेका राजु अर्याल महानिरीक्षक बनेका छन् ।