राजनीति

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

आज १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उहाँले प्रश्न गर्नुभएको हो । कुनै नेता विशेष र पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न नमिल्ने उहाँले बताउनुभयो ।

उहाँले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताउनुभयो । नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिडेको आरोप पनि लगाउनुभयो ।