Breaking

स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न ‘विप्लव’को उर्दी


काठमाडौँ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

महासचिव विप्लवले आइतबार एक अपिल जारी गर्दै पार्टीको निर्णयअनुसार एमसिसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनप्रिय प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णयअनुसार मतदान गर्न आह्वान गरेका छन् ।

‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गइरहेको स्थानीय चुनावमा एमसिसी एवम् राष्ट्रघातविरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ’ विज्ञप्तिमा भनिएका छ, ‘यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कैयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौँ ।’

संसदीय व्यवस्थाबाट कुनै पनि राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्ने सम्भव नभएको समेत उल्लेख गरेका छन् ।

‘देशको स्वाधीनता एवं जनताको पूर्ण अधिकारका लागि वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ । परन्तु यो स्थानीय चुनावलाई हाम्रो पार्टीले राष्ट्र र जनताका पक्षमा सघ गर्नै कार्यनीतिक मोर्चाका रुपया ग्रहण गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

देशमा राष्ट्रघाती एमसिसी सम्झौताका साथै चरम भ्रष्टाचार र महगीले जनतालाई सताइरहेको समेत उल्लेख गरेका छन् । जनतालाई गाउँगाउँबाट आफ्नो स्तरअनुसार राष्ट्रिय स्वाधीतताका पक्षमा गोलबन्द गर्ने, देशभक्तिको संघर्ष संचालन गर्ने, भ्रप्टाचारका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ ।