Breaking

मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १० को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको बताएकी हुन् ।

‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक समेत प्रत्याभूत गरेको छ’, सन्देशमा भनिएको छ, ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधान कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो ।’

राष्ट्रपति भण्डारीले आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नुपर्ने पनि जोड दिएकी छन् ।

‘उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुन्छ’, सन्देशमा उनले भनेकी छिन्, ‘ त्यसैले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ ।’