Breaking

आज १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस


काठमाडौँ — आज १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले आज विभिन्न कार्यक्रम आयोजना गर्दै छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा शहीदगेट, न्यूरोड, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ ।

यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्याह्न भृकुटीमण्डमा श्रमिक सभा आयोजना गर्ने छ । नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) ले अपराह्न बृहत् कार्यक्रम गर्ने जनाएको छ ।

२००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ । २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।