देश

जेष्ठ २ गते विजय जुलुस मनाउन तयार रहनुः बुद्धिकिरण राई


काठमाडौँ — सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाका अध्यक्षका उम्मेदवार बुद्धिकिरण राईले जेष्ठ २ गते विजयी उत्सब मनाउन तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बैशाख ३० गते हुने निर्वाचनको मत परिणाम २ गते साँझ सम्म आइसक्ने भएकाले मत परिणाम एमालेको पक्षमा हुने दाबी गर्दै उहाँले हरेक गाउँमा विजयी जुलुस र दीप प्रज्वलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार बन्नुभएका बुद्धिकिरण राईले माप्यदुधकोशीमा अब एमाले बाहेक अन्य दलका उम्मेद्वारहरुको धरौटी जफत हुने उहाँको दावी छ । माप्यदुधुकोशी गाउँपालिका वडा न । ६ घैया बारिमा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राईले थुप्रै गाउँहरुमा विपक्षी दलहरुको पार्टी संगठन नै समाप्त हुने गरि एमालेमा जनलहर सुरु भएको बताउनुभयो ।

सबै गाउँ पुग्ने सडकको ट्राक खोली सकिसकेकोले अब ती सडकलाई कालोपत्रे गर्ने जिम्मेवारी अबको ५ वर्षमा पूरा गर्ने उहाँको दाबी छ । माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षका लागि यस अघि नै एमालेबाटै अध्यक्षमा निर्वाचित भई कार्यकाल पूरा गरिसक्नुभएका बुद्धिकिरण राई र उपाध्यक्षमा जुनितामाया मगर पुन उम्मेदवार बन्नु भएको छ । चुनावी अभियानमा एमाले जिल्ला कमिटि सचिव आसकुमार राई लगायत अन्य उम्मेदवारहरु सक्रिय छन् ।