देश

बनेपा नगरपालिकाका मेयर नरसिंहद्वारा एमाले परित्याग


काठमाडौँ — काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गरेका श्रेष्ठलाई नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जानकारी दिइएको छ ।

एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने बचन दिएर धोका दिएको भन्दै उनले पार्टी परित्याग गरेका बताए । पत्रकार सम्मेलनमा उनले पार्टी र बास्कोटासहितको नेताहरूले आफूलाई झुक्याउने काम गरेको बताए । उनले बनेपाको मेयरबाट पनि राजीनामा गर्ने बताए । एमाले परित्याग गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने उनले बताए ।